ग्रामीण स्वावलम्बन सहकारीको नेतृत्व छनौट प्रक्रिया शुरु हुँदै

स्याङ्जा, २९ असार । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ अर्जुनचौपारी बजारस्थित ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि.ले नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गर्ने भएको छ । हालको संचालक समितिको पदावधि सकिन लागेसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गर्न लागेको हो ।

संस्थाको ७ औं अधिवेशनबाट निर्वाचित संचालक समितिको पदावधि सकिएसँगै श्रावण १ गतेबाट नयाँ नेतृत्वको चयन प्रक्रिया शुरु गरिने सहकारीले जनाएको छ । श्रावण महिनाभित्र समूह पदाधिकारी चयन गरिने छ भने भदौ महिनाभित्र अन्तरसमूह प्रतिनिधि छनौट गरिने छ । समूह पदाधिकारी चयन र अन्तरसमूह प्रतिनिधि छनौट भएपछि सहकारीको मुल संचालक समिति र लेखा समितिको गठन गरिने भएको छ ।

Advertisement

अर्जुनचौपारी गाउँपालिका वडा नं. १, २, ३ र ४ कार्यक्षेत्रमा गठित २१० समूहमार्फत आयआर्जनसँगै रोजगारी सृजनामा काम गर्दै आएको सहकारीको नेतृत्वमा पुग्न कम्तीमा ५ जना शेयर सदस्य भएको समूह र प्रतिनिधि हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सहकारी ऐन, २०७४ नियमावली २०७५ र संस्थाको पुर्नलेखित विनियम २०७८ र आन्तरिक निर्वाचन निर्देशिका–२०८१ ले व्यवस्था गरेअनुरुप उम्मेदवार बन्न सहकारीले शेयर सदस्यलाई आग्रह गरेको छ ।

प्रत्येक ४ वर्षको अन्तरमा सहकारीको नेतृत्वका लागि लोकतान्त्रिक प्रक्रियाबाट समिति गठन गर्दै आएको सहकारीका प्रबन्धक शालिग्राम काफ्‌लेले जनाए । वर्तमान संचालक समितिको पदावधि सकिन लागेपछि २१० समूहमा पदाधिकारी चयन र १० वटा अन्तरसमूहबाट प्रतिनिधि छनौटको प्रक्रिया शुरु गर्न लागेको प्रबन्धक काफ्‌लेले बताए । श्रावण महिनाबाट शुरु हुने प्रक्रिया असोजभित्र सकिने काफ्‌लेको भनाई छ ।

झण्डै २ हजार महिला र १ हजार पुरुष सहित ३ हजार शेयर सदस्य रहेको सहकारीको नेतृत्वका लागि सहकारीले विभिन्न मापदण्ड समेत निर्धारण गरेको छ । समूह बचत नियमित गरेको, ऋणको भाखा ननाघेको, बैंठकमा नियमित उपस्थित भएको, अन्य सहकारीमा संचलाक तथा जागिर नखाएको हुनुपर्ने अनिवार्य मापदण्ड बनाएको सहकारीले जनाएको छ ।

८ औं अधिवेशन तथा २४ औं वार्षिक साधारणसभाको आन्तरिक तयारीलाई तीव्रता दिएको सहकारीले नयाँ नेतृत्व आएपछि शेयर सदस्यहरुको आर्थिक उन्नतीलाई प्राथमिकताका साथ काम गर्ने भएको छ । शेयर सदस्यको आयआर्जनमा नयाँ माध्यमको खोजीसँगै सहकारीको सेवालाई गाउँपालिका भरी कार्यक्षेत्र विस्तार गर्ने रणनीति लिएको छ । करिब ३५ करोडको कारोबार गरेको सहकारीले नयाँ नेतृत्व चयनपछि बचत संकलन र कर्जा लगानीलाई थप व्यवस्थित बनाउने भएको छ ।

सहकारीले शेयर सदस्यको आयआर्जनमा टेवा पुर्‍याउन कृषि क्षेत्रमा लगानी केन्द्रित गर्दै आएको जनाएको छ । कृषि क्षेत्रअर्न्तगत पशुपालनतर्फ बाख्रा, भैसी, कुखुरा र बंगुरपालनलाई उच्च प्राथमिकता दिएको सहकारीले नगदे बालीतर्फ सुन्तला, कफी र मौसमी तथा बेमौसमी तरकारी खेतीमा उल्लेख्य लगानी गरेको जनाएको छ । मासु, तरकारी र दुग्धजन्य वस्तु उत्पादनमा स्थानीय कृषकहरु आत्मनिर्भर उन्मुख बन्दै गएको सहकारीले दाबी गरेको छ ।

More News last news
Loading...