रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. धनञ्जय रेग्मीको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तथा पर्यटन विज्ञ डा. धनञ्जय रेग्मीले पार्टीको केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी दिएका छन्।

नेपाल पर्यटन बोर्ड (एनटिबी) का पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका डा रेग्मी लामो समयदेखि नेपालको पर्यटन, वातावरण, जलवायु परिवर्तन तथा हिमाली भूगोलको क्षेत्रमा अनुसन्धान र नीतिगत योगदान पुर्‍याउँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्।

Advertisement

पुराना राजनीतिक शक्तिहरूबाट मुलुकको समृद्धि सम्भव नभएको निष्कर्षसहित रास्वपामा आबद्ध भएका डा. रेग्मी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर १ बाट भारी मतसहित निर्वाचित भएका थिए। पार्टीभित्र नीतिगत तथा विषयगत नेतृत्वलाई थप सशक्त बनाउने उद्देश्यसहित उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

स्याङ्जा जिल्लामा जन्मिएका डा. रेग्मीले जापानको होक्काइदो विश्वविद्यालयबाट ‘इन्भाइरोमेन्ट अर्थ साइन्स’ विषयमा विद्यावारिधि (पिएचडी) हासिल गरेका छन्। उनले अमेरिकाको एरिजोना विश्वविद्यालयमा ‘ग्लेसियोलोजी’ विषयमा फेलोसिपसमेत पूरा गरेका छन्। उनी पर्यावरणीय अध्ययन संस्था ‘हिमालयन रिसर्च सेन्टर’का संस्थापक अध्यक्ष पनि हुन्।

पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै आएका डा. रेग्मी नेपालले वार्षिक ३० देखि ४० लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न घोषणामात्र नभई ठोस कार्ययोजना आवश्यक रहेको बताउँछन्।

उनका अनुसार हवाई सेवा तथा पूर्वाधार विस्तार, ‘ग्रीन पास’ प्रणालीको विकास, सहज मुद्रा सटही व्यवस्था, धार्मिक पर्यटनको व्यवस्थित व्यवस्थापन, क्याम्पिङ पूर्वाधार निर्माण, भारत–चीन केन्द्रित सडक पर्यटन नीति तथा प्रभावकारी अन्तर्राष्ट्रिय प्रचार रणनीतिमा विशेष ध्यान दिन आवश्यक छ।

More News last news
Loading...