काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्यटन विभाग प्रमुख सुमन विक्रम पाण्डेले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने रास्वपाको केन्द्रीय महाधिवेशनमा पाण्डेले केन्द्रीय सदस्य पदका लागि निर्वाचन लड्ने तयारी गरेका हुन् ।
नुवाकोटको विदुर नगरपालिका–२ मा जन्मेका पाण्डे नेपालका अनुभवी पर्यटन व्यवसायीमध्ये मानिन्छन् । करिब ३८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय उनले ट्राभल, ट्रेकिङ, हवाई सेवा तथा नागरिक उड्डयनलगायत पर्यटनका विविध विधामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका पाण्डेले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष, एयरलाइन्स एसोसियन अफ नेपाल (आवान) को महासचिव, नेपाल पर्यटन बोर्डको सदस्य तथा नेपाल पर्यटन वर्ष २०११ को कार्यसमिति सदस्यका रूपमा काम गरेको अनुभव छ ।
त्यसैगरी, उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर को अध्यक्षका रूपमा नेतृत्व प्रदान गर्नुका साथै पाटा अन्तर्राष्ट्रिय मुख्यालयमा चार वर्षसम्म कोषाध्यक्ष र सचिव तथा दुई वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । पर्यटन क्षेत्रको दीर्घकालीन योगदानको कदरस्वरूप पाटा अन्तर्राष्ट्रियले उनलाई हालसालै आजीवन सदस्यता सम्मान समेत प्रदान गरेको छ।
राजनीति र पर्यटनसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा पनि पाण्डेको सक्रियता उतिकै उल्लेखनीय छ । नुवाकोटमा सञ्चालन गरिएको ‘हरियो नुवाकोट’ अभियान मार्फत करिब डेढ लाख सुन्तला, कागती र एभोकाडोका बिरुवा कृषकहरूलाई वितरण गरी उनले कृषकको आयआर्जन वृद्धि र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
व्यवसायसँगै पाण्डे राजनीतिमा समेत सक्रिय छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार बनेका थियो। उक्त निर्वाचनमा उनले १६ हजार ४ सय ७७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए, जसले नुवाकोटमा उहाँको लोकप्रियता र राजनीतिक प्रभावलाई स्पष्ट रूपमा देखाएको थियो ।
हाल रास्वपाको पर्यटन विभाग प्रमुखको जिम्मेवारीमा रहेका पाण्डेले पार्टीभित्र नीति, संगठन र पर्यटन क्षेत्रको अनुभवलाई संस्थागत गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताए ।
पर्यटन, संगठन, अन्तर्राष्ट्रिय अनुभव, सामाजिक सेवा र वातावरण संरक्षणका क्षेत्रमा लामो योगदान दिएका पाण्डेको उम्मेदवारीलाई महाधिवेशनमा विशेष चासोका साथ हेरिएको छ। पार्टीभित्र नयाँ सोच, व्यावसायिक दक्षता र परिणाममुखी नेतृत्वको आवश्यकता बढिरहेका बेला पाण्डेको अनुभव र कार्यशैलीले केन्द्रीय नेतृत्वमा थप ऊर्जा प्रदान गर्ने विश्वास उनका समर्थकहरूले व्यक्त गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
