स्याङ्जा सदरमुकाम स्थित मालेबगर खेलमैदानमा १४ औं राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । प्रतियोगिता जिल्ला खेलकुद विकास समिती स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहआयोजनामा शुक्रबारदेखि सुरु भएको हो । आइतबारसम्म चल्ने प्रतियोगितामा जिल्लाका ११ वटै स्थानिय तह सहभागी हुने आयोजकले जनाएको छ ।
१४ औ संस्करणको यो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्री प्रसाद घर्तिले गरेका थिए । कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाइ कार्यालय स्याङ्जाका प्रमुख विश्वराज आचार्य, पुतलीबजार नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष प्रकाश रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य राजेन्द्र शर्माले स्वागत एवम् कार्यक्रम सञ्चालन सदस्य लेखनाथ शर्माले गरेका थिए । ११ वटै स्थानिय तह सहभागी भएको प्रतियोगिताको यसभन्दा अघिल्लो संस्करणमा गल्याङ नगरपालिकाले उपाधि हात पारेको थियो । १४ औं संस्करणको यो प्रतियोगिता अवधिभर आवश्यक औषधि तथा मेडिकल सहयोग खुमा अर्याल फाउन्डेसन स्याङ्जाले गर्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
