गल्याङ नगरपालिकाले प्रथम खुमा अर्याल कप टि ट्वान्टी क्रिकेट लिग स्याङ्जा जिल्ला अन्तर पालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि उचालेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा सम्पन्न सो रनिङ शिल्डको पहिलो उपाधि गल्याङले हात पारेको हो । गल्याङले उपाधि दाबेदार मानिएको वालिङलाई १० विकेटले पराजित गर्यो ।
वालिङलाई रोक्दै गल्याङले बहुमुल्य विभिन्न रत्न जडित रनिङ शिल्ड सहित नगद २ लाख रुपिया साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । यस्तै, उपविजेतामा चित्त बुझाएको वालिङले नगद १ लाख ५० हजार, तृतिय भएको चापाकोटले नगद १ लाख र सान्त्वना भएको हरिनाश गाउँपालिकाले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतिकुल मौसमका कारण २० ओभरको खेललाई ७ ओभरमा झारिएको थियो । खेलमा गल्याङले वालिङ नगरपालिकाले दिएको ४० रनको विजयी लक्ष्य बिना कुनै विकेटको क्षतिमा ३ दशमलब १ ओभरमै भेट्टायो । गल्याङका लागि दिपक प्रसाद डुम्रेले ९ बलमा १ छक्का र ३ चौका सहित २३ रन बनाएका थिए भने इसान पाण्डेले १० बलमा १३ रन जोडेका थिए ।
गल्याङका इशान पाण्डे, तुलसीराम भण्डारीले समान २/२ विकेट लिए भने विपिन खत्री, सन्दिप खत्री, दिपक प्रसाद डुम्रेले समान १/१ विकेट लिएका थिए ।
प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट ८ र १ जना सबैभन्दा कम उमेरका खेलाडीले जनही नगद १० हजार रुपियाँ प्राप्त गरेका छन भने १० हजार बराबरकै गण्डकी मेडिकल कलेजमा होल बडि चेकअफ निशुल्क प्राप्त गर्ने आयोजक खुमा अर्याल फाउन्डेसन स्याङ्जाले जनाएको छ । प्रतियोगितामा विधागततर्फ गल्याङका दिपक प्रसाद डुम्रे बेस्ट ब्याटर, पुतलीबजार अश्वानी राना बेस्ट फिल्डर, गल्याङकै अङ्कित न्यौपाने बेस्ट बलर, दिपेश न्यौपाने बेस्ट विकेट किपर घोषित भए । यस्तै, वालिङका बिरु गुरुङ बेस्ट कोच, चापाकोटका समीर पङ्गेनी इमर्जिङ प्लेअर, चापाकोट कै करण पङ्गेनी मेन अफ दि टुर्नामेन्ट बनेका थिए भने चापाकोटला विशाल कोईराला सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । यसैगरी, बिरुवाका उज्ज्वल गुरुङ कान्छा उमेरका खेलाडी बन्न सफल भए । प्रतियोगिताका प्रत्येक खेलका मेन अफ दि म्याचले ट्रफी सहित नगद ५ हजार प्राप्त गरे ।
यहि माघ २ देखि चलेको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगिताको समापन कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्री प्रसाद जि टि ले गरेका थिए । समापन कार्यक्रममा भएको सास्कृतिक कार्यक्रम एवम् साङ्गितिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु लोक तथा दोहोरी गायक पशुपती शर्मा, गायिका सम्झना भण्डारी, गायक घनश्याम रिजाल, भजन गायक शिव शर्मा, डान्सर सगुन थापा र विक्रम संवतको प्रस्तुति रहेको थियो ।
यसैबिच, प्रतियोगिता कै अवसरमा सम्पन्न अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगितामा ज्योती अङ्ग्रेजी आवशिय मा वि ले प्रथम स्थान हासिल गर्दै नगद ९ हजार रुपियाँ सहित प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, शितला मा वि पौवैगौडे, श्रवण मा वि लामागे, महेन्द्र ज्योति मा वि भिरकोट क्रमश: द्दितिय, तृतिय र सान्त्वना हुँदै क्रमशः नगद ७ हजार,५ हजार र ३ हजार रुपियाँ सहित प्रमाणपत्र हात पारे । यस्तै, सबैभन्दा बढी विद्यार्थी सहभागी गराउने त्रिभुवन आदर्श नमुना मा वि लाई पनि नगद ५ हजार रुपियाँ सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
प्रतियोगिताको आयोजना खुमा अर्याल फाउन्डेसन स्याङ्जाले गरेको हो भने सह आयोजकमा पुतलीबजार नगरपालिका स्याङ्जा रहेको हो । यस्तै, खेलको सबै प्राविधिक संयोजन स्याङ्जा जिल्ला क्रिकेट संघ स्याङ्जाले गरेको हो भने समन्वयकारी भुमिका जिल्ला खेलकुद विकास समिति स्याङ्जाले गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
