काठमाडौँ । भदौ २३ र २४ गते जेनजी अभियानको प्रदर्शनले मुलुकको राजनीतिक मात्रै नभई आर्थिक र सामाजिक क्षेत्रमा गहिरो प्रभाव पारेको छ। अस्पतालमा अझै घाइतेहरूको उपचार जारी छ भने निजी तथा सार्वजनिक संरचनासँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन छविमा नकारात्मक असर पुगेको सरोकारवालाहरूले बताएका छन्।
पर्यटकीय सिजन सुरु हुनै लाग्दा भएको अशान्तिले विदेशी पर्यटकका बुकिङहरू केही रद्द भएका छन्। पर्यटन पूर्वाधारमा क्षति पुगेको भए पनि पदयात्रा, धार्मिक र साहसिक पर्यटनमा ठूलो असर नपर्ने विज्ञहरूको भनाइ छ। पूर्वअर्थसचिव रामेश्वर खनालले पर्यटकलाई प्रत्यक्ष खतरा नभएकाले सकारात्मक प्रचारप्रसारमार्फत पर्यटन छिट्टै उकासिने विश्वास व्यक्त गरे।
अर्थशास्त्री डा. समिर खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गरेर अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए। उनले विगतका विपद्मा पनि नेपालले छिट्टै पर्यटन उठाएको अनुभव स्मरण गर्दै यसपटक पनि रिकभरी चाँडो हुने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले पर्यटन पुनःरुत्थानका लागि ड्राफ्ट प्लान तयार भएको र छिट्टै प्रस्तुत गरिने जानकारी दिए। हाल नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् र बोर्डले उनीहरूलाई सुरक्षित अनुभूति दिलाउन प्राथमिकता दिएको छ।
होटल सङ्घका अध्यक्ष विनायक शाहले करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गर्दै सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटनलाई उकास्नुपर्नेमा जोड दिए। काठमाडौँमा मात्र हिल्टन होटलले करिब आठ अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको अनुमान छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
