तनहुँ । भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ ।
आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार एक सय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य सकिएको जानकारी दिए । त्यस्तै छ हजार सात सय ७३ कित्तामा नाप नक्सा भइसकेको उनले बताए । उनका अनुसार छ सय २४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ ।
त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको सदस्य सचिव सिंहले बताए । आयोगले विगतमा गरेका कामलाई नै वर्तमान आयोगले निरन्तरता दिने सिंहको भनाइ छ । उनले भने, ‘विगतको आयोगले जहाँसम्म काम सम्पन्न गरेको छ, अहिले गठन भएको आयोगले त्यहीँबाट काम सुरु गर्नेछ ।’
व्यास नगरपालिकामा सात हजार ४३, भानु नगरपालिकामा तीन हजार तीन सय १७, शुक्लागण्डकी नगरपालिकामा चार हजार चार सय तीन, देवघाट गाउँपालिकामा दुई हजार तीन सय ४४, भीमाद नगरपालिकामा एक हजार आठ सय ६१, ऋषिङ गाउँपालिकामा एक हजार चार सय ३९, घिरिङ गाउँपालिकामा एक हजार पाँच सय २०, म्याग्दे गाउँपालिकामा एक हजार दुई सय ६७, आँबुखैरेनी गाउँपालिकामा आठ सय ९३ र बन्दीपुर गाउँपालिकामा दुई हजार ३० भूमिहीनको लगत सङ्कलन भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
