तनहुँ बस दुर्घटना : १४ जनाको शव फेला, ११ गोताखोरसहित ८० सुरक्षाकर्मी तैनाथ

काठमाडौँ । तनहुँमा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाकाे शव घटनास्थलबाट निकालिएकाे छ । घटनास्थलबाट १४ जनाकाे शव निकालिएकाे र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेकाे छ।

उद्धार कार्यमा गोताखोरसहितको टोली खटिएको छ । प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जना र नम्बर–२३ मनकामना गणबाट ३५ जनाको फौज खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

Advertisement

उहाँका अनुसार अप्ठेराे ठाउँ भएकाले तुइन रोप अर्थात् डोरीको प्रयोग गरी उद्धारकाे काम भइरहेको छ। घाइतेहरूलाई सडकसम्म ल्याउन डोरीमा बास्केट स्ट्रेचर रहेको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

More News last news
Loading...