पोखरा l पोखरा फुटवेयर बिजनेस सेन्टरमा सञ्चालनको पाँच दिनमै ताला लागेको छ । निकै तामझामका साथ पोखरा ८ सिर्जनाचोकमा शुक्रबार गण्डकी प्रदेशका कृषि, भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले सो शोरुमको उद्घाटन गरेका थिए ।
तर पोखरा महानगरपालिकामा दर्ता नभएको भन्दै महानगरले मंगलबार दिउँसो १ बजे शोरुमको मुख्यद्वारमै ताला लगाएको हो ।
नेपाल फुटवेयर एसोसियनका उपाध्यक्षका सुरज बञ्जाडेले एक्कासि बिनासूचना शोरुम बन्द गराइनू निन्दनीय कार्य भएको बताउँछन् ।
‘आफूहरुले सुरुमा जुत्ताको एक्सो गर्ने तयारी गरेकोमा पोखरा महानगर प्रमुखले नै अहिले एक्सो नगर्नु शोरुमको रुपमा चलाउनु भनेपछि सुरु गरेको हौं,’ सु–ल्यान्ड कम्पनीका सञ्चालक समेत रहेका उनले भने, ‘तर साउन १ मा महानगरमा कर लिन सिस्टम बन्द भएपछि केही समय रोकिएकोमा केही पसल दर्ता हुन बाँकी थिए । तर चलिराखेको शोरुममा समय अवधि नदिई बन्द हुनु निन्दनीय कार्य हो ।’
नेपालका चर्चित १० कम्पनीका करिब दुई दर्जन ब्रान्डका जुत्ता, चप्पलको साझा बिक्री कक्ष पोखरा फुटवेयर बिजनेस सेन्टरमा करिब एक करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो । यहाँ शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका हजारौं उत्पादन एकै छानामुनि खरिद गर्न सकिन्छ ।
उत्पादक र उपभोक्ताबीच बिक्री च्यानल लामो हुँदा उत्पादकको भन्दा बढी बिचौलियाको हालीमुहाली हुँदै आएको एसोसिएसन उपाध्यक्ष रुद्रनाथ न्यौपानेको भनाइ छ । सोही परम्परालाई भत्काउँदै उत्पादकलाई सिधैँ उपभोक्तासम्म जोड्न मिल्ने गरी बिजनेस सेन्टरको अवधारणा ल्याइएको उनले जानकारी दिए ।
फुटवेयर बिजनेस सेन्टर उद्घाटनमा भारी छूटको पनि व्यवस्था गरिएको थियो । तर पोखराका अन्य जुत्ता व्यवसायीहरुले यसको विरोध गर्दै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
