काठमाडौं । एमाले लगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।
साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ । बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आजै दाबी पेस गर्ने सहमति छ ।
दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरूले समर्थन गर्ने बताउनुभयो । जनमत पार्टीका ६ जना सांसद छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलहरूलाई दिएको समयसीमा आज ५ बजे सकिएको छ ।
यता, राष्ट्रपति र प्रधानमन्त्री दुबैमा दाबी गर्दै आएको संसद्कै ठुलो दल भने सरकार निर्माण प्रक्रियाबाट बाहिरिएको छ । आइतबार दिउँसोसम्म राष्ट्रपति र प्रधानमन्त्री दाबी गर्दै आएका काग्रेस सभापति देउवा र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने हेरेको हेर्यै भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
