चितवन । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन्। चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन्।
उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन्। पाण्डेले १९२५, नेम्वाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याएका छन्।
तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन्। उनले ७२५ मत पाएका छन्।
एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए। उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराएका थिए।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो।
नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८०८ मत खस्दा रावलले २१३ मत पाए । साथै नो भोटमा ७५ मत खसेको छ।
यसअघि २०७१ सालमा काठमाडौँमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो।
यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो। मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
