ओखलढुंगा । आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशन अघि जिल्ला तथा स्थानीय कमिटीको अधिवेशन सम्पन्न गर्नु पर्ने भएपछि नेकपा माओवादी केन्द्रका स्थानीय कमिटीको अधिवेशन धमाधम भइरहेको छ।
जिल्लाका ८ स्थानीय तहमध्ये ६ वटामा अधिवेशन सकिएको छ। अधिवेशनले स्थानीय कमिटीको नयाँ नेतृत्व चयनका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको नेता हेमसागर पराजुलीले जानकारी दिए।
जिल्लाका लिखु, चम्पादेवी, सुनकोसी, मानेभञ्याङ् चिशंखुगढी र खिजीदेम्वा गाउँपालिका कमिटीका अधिवेशन सकिएका छन्। अधिवेशनले सबै पदहरूमा सर्वसम्मत नेतृत्व चयन गरेको र दुई पालिकाको मंसिर तेस्रो साताभित्रै सम्पन्न भइसक्ने नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य रुपेश शाक्यले जानकारी दिए।
नेकपा माओवादी केन्द्र पालिकाको प्रथम सम्मेलनबाट चिशंखुगढीमा नरेन्द्र बस्नेत, खिजीदेम्वामा चन्द्रमान तामाङ, मानेभञ्ज्याङमा टंक किराति, लिखुमा नवीन पौडेले अध्यक्ष चयन भएका छन्। त्यस्तै सुनकोसीमा छविरमण धमला, चम्पादेवीमा खड्गबहादुर कार्की अध्यक्ष बनेका छन्।
पालिका अधिवेशनले भूगोलबाट दुई अनिवार्य हुने गरी सबै पालिकाबाट सदस्य संख्याका आधारमा प्रदेश प्रतिनिधि पनि चयन भएका छन्।
सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ। ती तहमा पनि मिति तय भइसकेकाले मंसिरको २० भित्रै सबै अधिवेशन सम्पन्न हुने नेताहरूले बताएका छन्। मंसिर २८ मा प्रदेश १ को अधिवेशन तय भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
