तनहुँ काँग्रेसको सभापतिमा जित आले विजयी

काठमाडौँ । नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् ।

हालकै सभापति बैकुण्ठ न्यौपानेले जित्ने दावीकाबीच भीमादका जीतप्रकाश आलेले कांग्रेस तनहुँमा केही समययता दह्रो पकड बनाएका न्यौपानेलाई पराजित गर्दै अप्रत्यासित नतिजा निकालेका हुन् ।

Advertisement

दुवै पक्षले एक अर्काले करिब डेढ सय मतान्तरले चुनाव जित्ने दावी गरिरहँदा आलेले शुरुवातदेखि नै निरन्तर लिड गरेर नसोचेको परिणाम दिएका हुन् । आलेले ९५१ मत ल्याएर जित्दा न्यौपानेले ७८३ मत पाए ।

क्षेत्र १ को मतान्तर, दुवै प्रदेशको चुनाव जितेको पौडेल प्यानलको मतको बल अनि सभापति हुँदाको प्रभावका आधारमा न्यौपानेले थोरै मतान्तरले जित्ने आशंका गरिए पनि केन्द्रमा प्रभाव जमाएका देउवा निकट हस्तीहरु शंकर भण्डारी, गोविन्द भट्टराई र मास्टरमाइण्ड भनेर जिल्लाको राजनीतिमा चिनिने ध्रुव वाग्लेको साथ पाएका आलेले क्षेत्र २ मा आफ्नो प्यानलले जमाएको पकडका आधारमा चुनाव जिते ।

हार्ने अवस्थामा न्यौपाने चुनाव नलड्ने ठानिए पनि चुनावी अंकगणितमा १ सय मतले भए पनि जित्ने आन्तरिक आंकलनका आधारमा चुनाव लडेका थिए ।

आलेलाई भने क्षेत्र २ को खमा बनेको सर्वसम्मति, स्थानीय नेता राजेन्द्रकृष्ण श्रेष्ठसमेतको साथ अनि मगर बहुल मतका आधारमा चुनाव जित्ने आत्मविश्वासलाई केन्द्रका माथि उल्लेखित हस्तीले दिएको दह्रो साथ नै चुनाव जित्ने कारण बन्न पुग्यो ।

मत परिणाम अनुसार उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् ।

सचिव पदमा यस अघि नै लक्ष्मीभक्त खनाल विजयी भए । सचिवमा सहदेव अधिकारी निर्वाचित भए। सहसचिवमा मिलन आले निर्वाचत र परमेश्वर भट्टराई विजयी भए ।

सह सचिव मिलन बाहेक सबै आले प्यानलका हुन् । जिल्लामा दुवै क्षेत्रमा गरी १७८२ मतदाताले मतदान गरेका थिए।

More News last news
Loading...