कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी

खोटाङ । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन्। कांग्रेसको सातौं जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईभन्दा ५९ बढी मत ल्याएर विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

मतदानमा १ हजार ३२२ मत खसेकोमा शुक्रबार सार्वजनिक घोषित परिणामअनुसार विष्णुकुमारले ६६९ मत पाउँदा सर्वधनले ६१० मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनले तेस्रोपल्ट पार्टीको जिल्ला सभापतिको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । पौडेल समूह निकट राईको सिंगो प्यानल नै विजयी भएको छ।

Advertisement

नवनिर्वाचित सभापति राई कांग्रेसका पूर्वसभापति एवं महासमिति सदस्य हुन्। २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा प्रवेश गरेका विष्णुकुमार २०६२ साल र २०६७ सालको अधिवेशनबाट पार्टीको सभापति चुनिएका थिए।

यस्तै २०४८ साल र २०५२ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका राई २०७२ सालमा महासमिति सदस्य बनेका थिए। कानुनमा स्नातक उनी ६ असार २०४९ देखि ५ वर्ष तत्कालीन जिल्ला विकास समिति खोटाङको सभापति बनेका थिए।

साहित्यमा उनी विष्णु आभूषणका रूपमा चिनिन्छन्। उनलाई निवर्तमान सभापति नरेश श्रेष्ठ, शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन थियो। सभापतिमा पराजित सर्वधन देउवा निकट हुन्।

राईको प्यानलबाट उपसभापतिमा इवन राईले ७५३ मत र तीर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी भएका छन् । सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी बनेका छन्।

यस्तै, सहसचिवमा सार्जन राईले ६२४ मत र सालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

More News last news
Loading...