राप्रपा अध्यक्षत्रयविरुद्ध लिङ्देन र राणाको टक्कर, अध्यक्ष र महामन्त्रीमा उमेद्वारी घोषणा

काठमाडौं l राप्रपा अध्यक्षत्रय कलम थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीविरुद्ध राजेन्द्र लिङ्देन र धवलशमशेर राणा समूहले टक्कर दिएको छ।

पार्टीको महाधिवेशन आउन एक साता बाँकी रहेका बेला बिहीबार अध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

Advertisement

धवलशमशेर राणाको समर्थनमा लिङ्देनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षत्रय थापा, जबरा र लोहनीले पार्टीलाई बन्धक बनाएको लिङ्देनको आरोप छ । उनले पार्टीभित्र देखिएका पार्टीको परम्परागत गुट अन्त्य गर्ने दाबी गरे ।

धवलशमशेर राणाको उम्मेदवारी घोषणा भने अहिलेका लागि रोकिएको छ । ‘आजलाई धवलशमेशरको उम्मेदवारी रोकिएको छ’, राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले भने, ‘कुन पदमा निर्वाचन गराउने, कुनमा मनोनीत गराउने भन्ने विषयलाई विधानले टुंगो लागिसकेपछि उहाँको उपाध्यक्ष वा महामन्त्रीमा उम्मेदवारी घोषणा हुन्छ ।’

बिहीबार धवलशमशेरको उम्मेदवारी घोषणा गर्ने बताइएको थियो । तर, विधानमा देखिएको अस्पष्टताका कारण रोकिएको हो । लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने क्रममा धवलले पार्टीको जिम्मेवारी नयाँ अनुहारलाई दिन नसके अस्तित्व संकटमा पर्ने बताए । सोही कारण नेता लिङ्देनलाई अध्यक्षको रूपमा अघि सारेको उनको भनाइ छ ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए ।

लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् ।

पछिल्लो समय थापा, जबरा र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

More News last news
Loading...