एमाले महाधिवेशनः अत्याधुनिक प्रविधियुक्त मञ्च, आकाशमा दुई ड्रोन

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ। उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल ड्रोनले निगरानी हुनेछ।

मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए। प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिए।

Advertisement

उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्न भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने श्रेष्ठले बताए।

९ मंसिरमा हस्तान्तरण गर्ने गरी मञ्च निर्माण भइरहेको श्रेष्ठको भनाइ छ । उनले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताए । त्यसैगरी, सौराहामा बन्द सत्र हुने हल निर्माण समेत आइतबारदेखि नै सुरु भइसकेको उनले जानकारी दिए। ‘बन्द सत्र हुने सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा आल्मुनियमको संरचना बनाइएको छ,’ उनले भने ।

पत्रकार सम्मेललनमा अनुगमन समितिको संयोजकमा काशीनाथ अधिकारीले महाधिवेशनको कामको नियमित अनुगमन भइरहेको बताए। समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन समेत गरेको उनको भनाइ छ। महाधिवेशन तयारीले हिजोदेखि गति समातेको अधिकारीले बताए । जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम समेत जारी रहेको उनको भनाइ छ।

१० मंसिरमा हुने उद्घाटन सत्रमा सहभागी हुन विभिन्न ६ स्थानबाट र्‍याली निकाल्ने तयारी भइरहेको अधिकारीले बताए। गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्‍याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ।

प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाएको बताए । व्यापक जनसहभागिता जुटाउन जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठन परिचालन भइरहेको सुवेदीले जानकारी दिए।

नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको बताइन्। जिल्लामा रहेका सुरक्षा निकायहरूसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनसहित सुरक्षा प्रबन्ध मिलाउने रावलले जानकारी दिइन्।

More News last news
Loading...