पोखरा । कास्की प्रहरीले १८ लाख नगदसहित ६ जना जुवाडे पक्राउ गरेको छ । राति २ बजे पोखरा १२ चापापानीबाट उनीहरु पक्राउ परेका हुन् ।
नवीन गौचनको घरमा तास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। पक्राउ पर्नेहरुमा मुस्ताङ थासाङ घर भई पोखरा १२ बस्ने नवीन गौचन, पोखरा १२ फूलबारीका काजी गुरुङ, माटेपानीका सुर्य गुरुङ रहेका छन्।
त्यस्तै दैलेख नौमुले घर भई पोखरा २६ विजयपुर बस्ने खम्बा सिंह राना, मादी गाउँपालिका घर भई पोखरा १३ संगम टोल बस्ने खेमराज गुरुङ र पोखरा १९ घर भई वडा नम्बर १६ दीप बस्ने श्याम श्रेष्ठ छन्।
उनीहरुको साथबाट १८ लाख ७५ हजार ५ सय ३० रुपैयाँ बरामद भएको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।
तास खेलिरहेको अवस्थामा काठमाडौँमा पनि २२ जना पक्राउ
काठमाडौं महानगरपालिका-१५ चौमती बस्ने संजिव देउलाको घरमा तास खेलिरहेको अवस्थामा देउला लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी, दक्षिणकाली नगरपालिका-९ हुडुस्थित निरज महर्जनको खाजा पसलको टहरामा तास खेलिरहेको अवस्थामा सोही नगरापलिका-५ बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८६ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
