सहमति नजुटेपछि एमाले पोखराको अधिवेशन स्थगित, अन्नपूर्णमा ५ जनाको उम्मेदवारी दर्ता

पोखरा । नेकपा एमालेको पालिका अधिवेशनअन्तर्गत पोखराको अधिवेशन एक दिन स्थगित भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेगरि सुरु भएको अधिवेशनमा धेरैले नेतृत्व दाबी गरेपछि स्थगित भएको हो ।

‘५–६ जना आकांक्षी हुनुभयो । धेरै उम्मेदवार भएपछि अहिले सहमति जुट्ने अवस्था देखिएन,’ एक नेताले भने, ‘रातभरिमा मिलाएर भोलि अधिवेशन सुरु गर्ने भनिएको छ ।’

Advertisement

पोखराको नेतृत्वका लागि एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र नेता खगराज अधिकारीको आफ्नै दाबीछ । नेतृत्वमा हालका अध्यक्ष दीपक पौडेल, नेता तेजनारायण अधिकारी, दिलीप न्यौपाने र व्यवसायीसमेत रहेका सञ्जीवबहादुर कोइरालाले दाबी गरेका छन् ।

पौडेल र अधिकारी गुरुङ निकट मानिन्छन् भने न्यौपाने अधिकारी गुटका हुन् । निर्वाचन प्रक्रिया नै बिहान १० बजेबाट सुरु हुने कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए।

अन्नपूर्णमा पाँच जनाको उम्मेदवारी

पालिका अधिवेशनअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकामा मनोनयन सकिएको छ । तोकिएको समयभित्र पाँच जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेताहरू सोमनाथ पौडेल, गौरी सुवेदी र विवेक देवकोटाले मनोनयन दर्ता गराएका हुन् । मनोनयनपछि दाबेदारहरू बीच छलफल थालिएको छ।

More News last news
Loading...