काठमाडौं । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ । गृह मन्त्रालयको हिजो बेलुकासम्मको तथ्यांकअनुसार ४१ जना घाइते छन् भने ४३ जना हराईरहेका छन् ।
बाढी पहिरोले सबैभन्दा बढी मानवीय क्षति प्रदेश १ मा भएको छ । पाँचथरमा २८, इलाममा १४, धनकुटामा ७, सुनसरीमा ८, उदयपुरमा २ र मोरङ, सोलुखुम्बु र भोजपुरमा १/१ जना गरी प्रदेशभर ६१ जनाको मृत्यु भएको छ ।
२० जना घाइते र १३ जना अझै बेपत्ता छन् । सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु, १७ जना घाइते र २३ जना हराइरहेका छन् । डोटीमा मात्रै १६ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । बझाङमा हालसम्म ८ जनाको शव भेटिएको छ ।
२१ जनाको अवस्था अज्ञात छ । यसैगरी, कर्णालीमा ७, लुम्बिनीमा ३, वाग्मतीमा १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। बाढीका कारण देशभर २ हजार २ सय ३२ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
कार्यालयका अनुसार ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ पशुचौपाया मरेका छन् । विपद्का घटनाबाट १ हजार १ सय ७७ परिवार विस्थापित भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
