काठमाडौँ । साइकल छाप चुनाव चिन्ह राखेर महन्थ ठाकुरले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नामक नयाँ दल दर्ता गर्ने तयारी गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको बेलामा ठाकुर पक्षले पनि उक्त दल निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरेका छन्।
ठाकुर निकट एक सांसदले दिएको जानकारीअनुसार ठाकुर मात्र एकल अध्यक्ष रहने गरी उक्त दल दर्ताको लागि तयारी गरिएको हो ।
अहिले दर्ता गर्ने बेलामा २३ सदस्यीय कार्यकारिणी समितिको नाम पठाउने तयारी गरिएको छ । ‘निर्वाचन आयोगमा दल आधिकारिकताको लागि ठाकुर पक्षमा सनाखत गर्ने १६ जनासहित बाँकी रहेका ७ जना सांसदको नाम समेत कार्यकारिणीमा राखिएको छ ।’
ती सांसदले भने, ‘सनाखतका बेलामा तटस्थ बस्नु भएका निलम्बित सांसद रेशमलाल चौधरीलाई पनि हामीले कार्यकारिणीमा राखेका छौं ।’
रेशम चौधरीको नाम उपेन्द्र यादव अध्यक्ष रहेको जसपाको ३५ सदस्यीय कार्यकारिणीमा समेत राखिएको छ । उनी दुवै पार्टी तर्फको सूचीमा राखिएका हुन् ।
अहिले दल दर्ता गर्नका लागि निवेदन दिने र कति जना केन्द्रीय समिति रहने विषयमा पछि सबै तय गरिने उनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
