(समाचार विश्लेषण)
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) विधि विधान विपरीत संचालन हुन थालेपछि सबैलाई समेटेर लैजान सक्ने नेतृत्वको खाँचो देखिएको छ।
गत आइतबार सम्पन्न भएको संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकमा विधि विधान र एनआरएनएको स्थापित परम्परा विपरीत विना छलफल एजेण्डाहरु पारित भएका खबर आफू निकट सञ्चार माध्यममा लेखाएपछि एनआरएनए अभियन्ताहरुले नै संस्थाको मर्म बुझेको र संस्थालाई एकजुट गर्न सक्ने नेतृत्वको खोजी सुरु गरेका हुन्।
नवौं सम्मेलनबाट नेतृत्वमा आएका शालिन देखिने अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माको कार्यशैलीलाई लिएर बिगतदेखि नै आइसीसी सदस्यहरुले अनौपचारिक गुनासो गर्दै आएका थिए।
गत आइतबार बैठकमा देखिएको अप्रजातान्त्रिक शैलीले असल नेतृत्वको महशुस सबैलाई गरायो । आगामी जनवरी अन्तिम साताका लागि प्रस्ताव गरिएको विशेष अधिवेशन सहित नवौं सम्मेलनमा पारित हुन नसकेका आर्थिक प्रतिवेदन पारित गर्ने अधिवेशनमा को को सहभागी हुने ? विधान अनुसार कम्तीमा ९० दिन उपलव्ध गराउने समय सीमाका बिषयमा नेतृत्वसँग प्रश्न गर्न पाउने नैसर्गिक अधिकारलाई हरण गरियो।
सदस्यहरुले जुम बैठकमा बोल्दा साउण्ड बन्द (म्युट) गर्ने, बोल्दा विभिन्न खालका प्राविधिक समस्या खडा गर्ने, पुरा कुरा राख्न नदिने, एजेण्डाहरु माथि पर्याप्त छलफल नगराउने शैलीले धेरै सदस्यहरु लामो समयदेखि बैठकमा भाग लिन गएका छैनन्।
लामो समयदेखि संघमा काम गरेको अनुभव भएका संघका अध्यक्ष पन्त र महासचिव शर्माले जुम अफ गरेर आफू निकट सञ्चार माध्यमबाट जवर्जस्ति निर्णय भएको प्रचार गराउनुले संघ भित्रको अप्रजातान्त्रिक प्रवृति छताछुल्ल भएको छ।
यसले संघमा लामो समय स्थापित भएको विधि विधान र प्रक्रियामा संस्था चलाउनु पर्छ भन्ने मान्यता स्खलन् भएको छ। अध्यक्ष पन्तले विगतमा संघमा बसेर सिकेको प्रजातान्त्रिक प्रक्रियाबाट संस्था चलाउने र चल्ने परिपाटीलाई तिलान्जली दिएका छन्।
यस्ता कार्य संघको नेतृत्वबाट १० महिनामा बाहिरपछि सबैले देख्ने नै छन्। राम्रा काम गर्ने पुर्वअध्यक्षहरु अहिले पनि सबै एनआरएनएको मनमा स्थापित छन् । पदीय दुरुपयोग गर्नेहरुको हालत हामी सबैले देखेकै छौँ।
पन्तको भविष्य देखिने नै छ । शक्ति केन्द्रको नजिक रहेर संघ विधि, विधान र पद्धतिलाई स्थापित गर्नुपर्छ भनेर वकालत गर्दै आएका महासचिव शर्माले बैठक संचालनका कार्यविधि र कुनै पनि एजेण्डामा पर्याप्त छलफल गर्न पाउने सदस्यहरुको नैतिक अधिकारलाई कुल्चदै विगतमा उनैले उठाएका एजेण्डालाई कुल्चेका छन्। उनको यस्तो अप्रजातान्त्रिक गतिविधिले संघ माथि भविष्यमा आईपर्ने परिणामको स्वयं जिम्मेवारी लिनुपर्ने हुन्छ।
डा. उपन्द्र मह्तोदेखि रामप्रताप थापा हुँदै चिरन्जीवि ढकालसम्मले रगत पसिना बगाएर बनाएको संघ मुठ्ठीभर मानिस र केही व्यापारीको हातमा लग्दै गर्दा सबै साथीहरुलाई मिलाएर लैजान सक्ने संघका पुर्व उपाध्यक्ष कुल आचार्यको टड्कारो खाँचो महशुस भएको छ।
भिन्न भिन्न विचार र समुहलाई एक साथ लिएर हिड्न सक्ने आचार्यको क्षमतालाई यतिवेला धेरैले सम्झेका छन । आचार्यले पाएको जिम्मेवारी शंखमुल पार्क होस वा एनआरएनएका फण्ड कलेक्सन सबैमा खरो उत्रिएर देखाए । उनको त्यो क्षमता र सामुहिक छलफल गराउने प्रजातान्त्रिक शैलीले धेरैलाई छोएको छ।
बैठक राम्रो नचलाउने र पुर्वसल्लाह अनुसार आ-आफ्ना निकटलाई मात्र बैठकमा बोल्ने दिने महासचिव शर्माको तानाशाही शैलीले अन्ततः संघलाई नै पतनको बाटोमा लगिरहेको देखिन्छ । यद्यपी संघ आफैमा खराब होइन । तर, गलत व्यक्ति नेतृत्वमा पुग्यो भने संघ इतिहासको पानामा सीमित हुन पुग्छ भन्ने गतिलो उदाहरण अहिलेको कार्यसमितिले देखाएको छ।
कार्यसमितिमा कार्यकारी पद भन्दा उपाध्यक्षमा बसेका अर्का डा. बद्री केसीसँग आइसीसीको ७५ औं बैठकमा आइएलओको सहयोगका बारेमा प्रश्न सोध्ने आइसीसी सदस्यहरुलाई जवाफ दिन पनि उचित ठानिएन। कति मानिसहरु विशेष अधिवेशनमा सहभागी हुन्छन् ? जुम प्रविधिमा जोडिन नसक्ने मानिससँग कसरी छलफल गरिन्छ भन्ने जबकी भर्चुअल बैठकमा अध्यक्ष पन्तले निर्णय सुनाएर बन्द गरियो।
सामाजिक संस्थामा देखिँदै गएको अप्रजातान्त्रिक पद्धतिलाई जरैबाट फाल्न र आगामी दिनमा सही नेतृत्व स्थापित गराउन आचार्यलाई फेरी अध्यक्षमा ल्याउनु पर्ने महशुस धेरैले गरेका छन् । राम्रो नेतृत्व संघमा नआए विश्वभर ८२ मुलुकमा फैलिएको यो संस्था इतिहासको पानामा अध्ययन गर्नु पर्ने अवस्था आउन सक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
