नेतृत्वको उदाहरण: अर्जुनचौपारीद्वारा आत्मदाह गरेका नेपालीका परिवारलाई ५० हजार राहत

मानविय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको अर्जुनचौपारी गाउँपालिकाले आत्मदाहका कारण असामयिक निधन भएका गणेश नेपालीका परिवारलाई तत्काल राहतस्वरूप रु. ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको सहयोग तथा अर्जुनचौपारी गाउँपालिका दलित उत्थान केन्द्रको समन्वयमा उक्त राहत उपलब्ध गराउने निर्णय गरिएको हो। प्राप्त जानकारीअनुसार उक्त रकम मृतकका परिवारलाई भोलि वा पर्सिभित्र हस्तान्तरण गरिनेछ।

Advertisement

यो निर्णयले दुःखको घडीमा पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। साथै गाउँपालिकाले मृतक गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

अर्जुनचौपारी गाउँपालिका पछिल्लो समय युवा नेतृत्व, संवेदनशील निर्णय र सामाजिक उत्तरदायित्वका कारण पनि चर्चामा रहँदै आएको छ। यसअघि ‘जेन जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकका परिवार, घाइते तथा पुनःस्थापनाका लागि स्थापना गरिएको घाइते तथा पुनःस्थापना कोषमा समेत गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको थियो। विपद्, आन्दोलन वा व्यक्तिगत पीडाका घटनामा नागरिकसँगै उभिने गाउँपालिकाको अभ्यासले स्थानीय सरकारप्रतिको विश्वास अझ बलियो बनाएको स्थानीयवासीको भनाइ छ।

गाउँपालिकाले विकासका भौतिक पूर्वाधारसँगै मानवता, सामाजिक न्याय र समावेशी सेवालाई समान प्राथमिकता दिँदै आएको सन्देश यस निर्णयले पनि दिएको छ। कठिन परिस्थितिमा नागरिकको साथमा उभिने स्थानीय सरकारको भूमिका केवल प्रशासनिक दायित्वमा सीमित नभई मानवीय उत्तरदायित्व पनि हो भन्ने उदाहरण अर्जुनचौपारी गाउँपालिकाले पुनः प्रस्तुत गरेको छ।

More News last news
Loading...