डिजि स्कुलले डाटा र एआई शिक्षामा नेपाललाई विश्वसंग जोड्दै

काठमाडौं । नेपालको डिजिटल शिक्षा क्षेत्रमा नयाँ अध्याय थपिएको छ। नेपालस्थित अग्रणी एड टेक संस्था डिजि स्कुल र बेलायतको प्रतिष्ठित इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए) बिच विश्वस्तरीय डाटा, एनालिटिक्स तथा एआई सम्बन्धी शिक्षा र प्रमाणीकरण कार्यक्रम विस्तार गर्ने उद्देश्यका साथ ऐतिहासिक व्यावसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ।

काठमाडौँस्थित म्यारियट होटलमा आयोजित विशेष समारोहमा डिजि ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजु बानियाँ तथा आईओएका ग्लोबल कमर्सियल डाइरेक्टर ओल्गा सारा ले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। यो साझेदारी पूर्ण रूपमा डिजि स्कुल र इन्स्टिच्युट अफ एनालिटिक्सबिच भएको व्यावसायिक सहकार्य हो। यद्यपि डिजि स्कुलले विगत पाँच वर्षदेखि विद्यालय तहमा आफ्नो प्रतिष्ठित साझेदार एनसीसी एजुकेसन युके सँगको सहकार्यमा सूचना प्रविधि सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर स्नातक तहका विद्यार्थी लक्षित यो नयाँ कार्यक्रम भने डिजि स्कुल र आईओएबीचको प्रत्यक्ष सहकार्यअन्तर्गत सञ्चालन हुनेछ।

Advertisement

सहकार्यसँगै नेपालमा पहिलो पटक आधिकारिक रूपमा ‘आईओए नेपाल च्याप्टर’ स्थापना हुने बाटो खुलेको छ। यसले नेपालका विद्यार्थी, शिक्षक तथा डाटा र एआई क्षेत्रमा कार्यरत पेशेवरहरूलाई अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक समुदायसँग जोड्ने अपेक्षा गरिएको छ। सम्झौताअनुसार विद्यार्थीहरूले आईओए अन्तर्गत उपलब्ध ६०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका कोर्षहरू अध्ययन गर्न सक्नेछन्। साथै, उनीहरूले विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्र तथा आधुनिक उद्योगले माग गर्ने व्यवहारिक सीप हासिल गर्ने अवसर पाउनेछन्।

त्यसैगरी, विद्यार्थीहरूले आफ्नो सुविधाअनुसार अध्ययन गर्न सकिने सेल्फ स्टडी प्रणालीमार्फत उन्नत तालिम लिन सक्नेछन्। उनीहरूलाई अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग नेटवर्किङ गर्ने, व्यावसायिक समुदायमा सहभागी हुने तथा करियर विकासका अवसर प्राप्त हुनेछन्। डिजि स्कुलको स्थानीय डिजिटल सिकाइ पूर्वाधार र आईओएको विश्वव्यापी दक्षता मापदण्डको संयोजनले नेपालको शैक्षिक प्रणाली र अन्तर्राष्ट्रिय उद्योगको आवश्यकताबिच रहेको खाडललाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सम्झौतापछि बोल्दै दुवै संस्थाका प्रतिनिधिले नेपालका युवाहरूलाई डाटा(सञ्चालित विश्व अर्थतन्त्रमा प्रतिस्पर्धी, सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्य रहेको बताएका छन्। बेलायतमा स्थापित इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए) डाटा एनालिटिक्स, डाटा साइन्स तथा एआई क्षेत्रमा कार्यरतका लागि विश्वकै अग्रणी अन्तर्राष्ट्रिय व्यावसायिक संस्थामध्ये एक हो। संस्थाले नैतिक डाटा प्रयोग, निरन्तर व्यावसायिक विकास तथा तथ्यमा आधारित निर्णय प्रक्रियाको प्रवर्द्धन गर्दै विश्वभर कार्यरतलाई एकीकृत गर्दै आएको छ।

सफ्ट एड ग्रुप अफ कम्पनीज अन्तर्गत सञ्चालित डिजि स्कुल नेपालमा प्रविधिमैत्री शिक्षाको क्षेत्रमा अग्रणी संस्थाका रूपमा परिचित छ। विद्यालय तहमा एनसीसी एजुकेसन युके सँगको सहकार्यमा बेलायती कम्प्युटिङ पाठ्यक्रम तथा आधुनिक ईलर्निङ प्लेटफर्ममार्फत विद्यार्थीहरूमा २१औँ शताब्दीका डिजिटल सीप विकास गर्दै आएको डिजि स्कुलले अब आईओएसँगको यो नयाँ सहकार्यमार्फत उच्च शिक्षा तहमा पनि अन्तर्राष्ट्रिय स्तरका अवसरहरू विस्तार गर्ने लक्ष्य लिएको छ।

यस ऐतिहासिक साझेदारीले नेपालका विद्यार्थीहरूलाई विश्वस्तरीय डाटा, एनालिटिक्स तथा एआई शिक्षामा पहुँच विस्तार गर्नुका साथै देशको डिजिटल रूपान्तरण र दक्ष जनशक्ति विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

More News last news
Loading...