स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टि ट्वान्टी क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा चापाकोट र अर्जुनचौपारी विजयी भएका छन ।
शनिबार भएको दोस्रो खेलमा हरिनास गाउँपालिकालाई ६९ रनले पराजित गर्दै अर्जुनचौपारी गाउँपालिकाले जित हात पारेको हो । यस्तै, शनिबारको पहिलो खेलमा पुतलीबजारलाई ४ विकेटले पराजित गर्दै चापाकोट नगरपालिकाले जित दर्ता गराएको थियो ।
शनिबारको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको अर्जुनचौपारी गाउँपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन बनाएको थियो । अर्जुनचौपारीका लागि दिनेश अधिकारीले ७ चौकाको मद्धतमा २० बलमा ३६ रन बनाए । यस्तै, कमल प्रसाद जैसीले १२ बलमा १४ रन बनाएका थिए । अर्जुनचौपारीका लागि दिनेश अधिकारीले ३ विकेट लिएका थिए ।
निर्धारित २० ओभरको खेलमा १८ दशमलब २ ओभर मै अलआउट हुँदै हरिनाश ९८ रनमा समेटिएको थियो । हरिनाशका लागि मिलन क्षेत्रीले २५ बलमा २६ रन बनाएका थिए भने दिवस कुवरले २० बलमा २० रन जोडे । हरिनाशका दिवस कुवरले २, अडिट पौडेल, फत्ते सिंह थापा, मिलन क्षेत्रीले समान १/१ विकेट लिएका थिए ।
यसअघि भएको खेलमा चापाकोटले पुतलीबजारलाई ४ विकेटले हराउदै विजयी भएको थियो । पुतलीबजारले दिएको ७४ रनको विजयी लक्ष्य पछ्छाएको चापाकोटले खेलको १२.४ ओभरमा नै ६ विकेटको क्षतिमा सजिलै भेट्टाएको थियो । चापाकोटका लागि अनिश ताम्राकारले २६ बलमा २२ रन बनाएका थिए भने करन पङ्गेनीले २४ बलमा २० रन जोडेका थिए । चापाकोटका अपरिचित पौडेल, करन पङ्गेनीले समान ३/३ विकेट लिएका थिए भने नारायण भण्डारी, रविन भट्टराईले १/१ विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको पुतलीबजारले निर्धारित २० ओभरको खेलमा १७ दशमलब २ ओभरमै अलआउट हुँदै ७३ रन बनाएको थियो । पुतलीबजारका लागि सौजन्य रेग्मीले १९ बलमा २१ रन र कमल परियारले २१ बलमा १६ रन बाहेक अन्य खेलाडीहरुले दोहोरो अंकको रन जोड्न सकेनन । पुतलीबजारका लागि अदिल आलम खानले ३, अश्वानी रानाले २ र प्रकाश क्षेत्रीले १ विकेट लिएका थिए ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना, पुतलीबजार नगरपालिकाको सह आयोजना, स्याङ्जा जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको परामर्शमा माघ २ देखि सुरु भएको यो प्रतियोगिता माघ १४ सम्म चल्नेछ । पाचौं दिनको पहिलो सत्रमा चापाकोट नगर प्रमुख देव बहादुर खाण र दोस्रो सत्रमा अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी र उपाध्यक्ष सपना गुरुङले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
