खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आफ्नो मासिक नियमित शैक्षिक कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिका १४ मा रहेको श्रवण माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययनरत ७३ जना विद्यार्थीहरुलाइ न्यानो पोशाक प्रदान गरेको छ । फाउन्डेसनले शुक्रबार श्रवण मा वि को ६२ औं वार्षिकोत्सब समारोहका अवसरमा आफ्नो कार्यपात्रो अनुसार यहाँका ७३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो पोशाक अन्तर्गत ट्र्याक सुट उपलब्ध गराएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।
विद्यालय प्राङ्गणमा आयोजित वार्षिकोत्सब समारोहको उद्घाटन वडा अध्यक्ष जितेन्द्र प्रकाश मल्लले गरेका थिए । कार्यक्रममा पुतलीबजार नगर विज्ञ समिती संयोजक तथा स्याङ्जा उच्च मा वि का संस्थापक एवम् क्याम्पस प्रमुख भरत प्रसाद लम्साल, पुर्व वडा अध्यक्ष शेषराज ढकाल, वडा सदस्य मुवारक मिया लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा विद्यालयकै हाताभित्र नवनिर्मित सरस्वती मन्दिरको समेत उद्घाटन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र के सि ले जानकारी दिए ।
शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारलाई मुख्य सरोकारका रुपमा अघि बढाएको फाउन्डेसनले शिक्षाको कार्यक्रम अन्तर्गत न्यानो पोशाक वितरण कार्यक्रममा यो वर्ष मात्रै ११ वटै पालिकाका विभिन्न विद्यालयमा गरि करिब १८ सय बालबालिकालाई न्यानो पोशाक वितरण गर्ने योजनाका साथ अघि बढेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
