लेखनाथ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले रुपाताल परियोजना प्रभावितलाई जग्गाको बढेको बजार मूल्य अनुसार मुआब्जा दिन आग्रह गरेका छन् ।
पोखरा–३२ का भद्रबहादुर सुयाल थापाको पाँचौं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै परियारले सो कुरामा जोड दिएका हुन् । पोखरा महानगरपालिकाअन्तर्गत तेस्रो ठूलो ताल रुपाताल संरक्षण परियोजनाको निर्माण यतिखेर जारी छ ।
परियारले नयाँ दररेट कायम गरी मुआब्जा दिन आग्रह गर्दै परियोजनाका लागि ११०० रोपनी अधिग्रहण गर्ने लक्ष्य राखिएकोमा हालसम्म ९०० रोपनीमात्र अधिग्रहण भएको बताए ।
२०७४ सालमा रोक्का भई अधिग्रहण परेबाहेकको जग्गा हालसम्म फुकुवा भएको छैन । जिल्ला प्रशासन कार्यालय, कास्कीले साविकको रुपाकोट ५ र ९, भिरचोक ४, ७ र ९, बेगनास १, २ र ४, सिसुवा ६ र ७ स्याक्लुङ–४ हाल रुपा गाउँपालिका ६ र पोखरा महानगरपालिका ३१ आसपासका जग्गा बाँधको लागि अधिग्रहण गरेको छ । डुबान क्षेत्र अन्तर्गत पर्ने १ हजार ४ सय ७७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने तथ्यांक छ । त्यसमध्ये ९ सय ९५ रोपनीको मुआब्जा दिनुपर्ने र अरु सरकारी तथा सार्वजनिक जग्गा रहेको परियोजनाले जनाएको छ । परियोजना अन्तर्गत तालको दक्षिणतर्फ ५७५ मिटर लम्बाइको बाँध निर्माणाधीन छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
