गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरामा यही माघ २२ गतेदेखि फागुन ३ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १२ टोलीले खेल्ने भएका छन् । २४औं संस्करणको प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले खेल्ने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबका बीचमा हुनेछ । प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एनआरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी हुँदैछन् । यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक सहारा क्लब गरी स्वदेशका नौ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विदेशी टोली बेलायतको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतियोगितामा सहभागी हुने अध्यक्ष बरालले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले छ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितमा एक करोड ५१ लाख रुपैयाँ आम्दानी हुने र एक करोड ४२ लाख २० हजार खर्च हुने आयोजक सहारा क्लबले जनाएको छ । क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट सङ्कलित रकम सहारा एकेडेमिमा आश्रित विपन्न वर्गका बालकको फुटबल प्रशिक्षणसँगै निःशुल्क आवास सुविधा प्रदान गर्दै आएको छ । एकेडेमीमा चौथो व्याचका ३० जना बालक आश्रित रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
