झापा । झापाको अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छन्। तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुको भनाई छ।
‘ओमान लाने भनेर इराक पुर्याएछन्’, पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भनिन्, ‘छ महिनासम्म कुनै सम्पर्क हुन सकेन। त्यसपछि भ्वाइस म्यासेजमार्फत बेला–बेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुपर्यो आमामात्र भनिरहेकी छन्।’
तीन वर्षदेखि बन्धक अवस्थामा रहेको खुलासा भए पनि कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास हुनसकेको छैन। दोहोरो सम्पर्क हुन नसकेका कारण कमलालाई इराकको कुन सहरमा बन्धक बनाइएको हो भन्नेबारेमा प्रष्ट हुनसकेको छैन।
कमलाकी आठ वर्षकी छोरी काजल मुर्मुको लालनपालन हजुरआमा लखीले नै गर्दै आएकी छन्। काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्। भारतको गुजरातमा रहेका पतिले छाडेपछि कमला जीविकाका लागि वैदेशिक रोजगारीमा जान बाध्य भएकी हुन्।
इटहरी बाँसबारीका गोविन्द कट्टेल र बिर्तामोड–१ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई इराक पुर्याएको परिवारको दाबी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
