
काठमाडौं। आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन्।
एमाले, रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए। तर, अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग नयाँ गठबन्धन गरेपछि एमाले संघीय र प्रदेश सरकारबाट बाहिरिएको छ।
सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ। सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।