Under Menu add (Inside news)

देश भक्तिपूर्ण चलचित्र ‘काँडेतार’ शिघ्र प्रदर्शनमा आउने

काठमाडौँ । सामना फिल्मस् प्रालिद्वारा निर्मित “काँडेतार” चलचित्रको चाँडै प्रदर्शन हुने भएको छ । चलचित्र विकास वोर्डले सेन्सर मिति वैशाख ११ गते तोकेपछि शिघ्र प्रदर्शनको समय आएको निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिएका छन् ।

नवल खड्का तथा शिवम अधिकारीद्वारा लिखित यो फिल्म खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ । फिल्मका निर्माता तथा निर्देशक नवल खड्काका अनुसार यो एक देशभक्तिपूर्ण फिल्म हुनुका साथै मनोरञ्जनात्मक खुराक समेत छ ।

निर्माण टोलीका अनुसार यो फिल्म विषय र प्राविधिक हिसावले अब्बल बनेको छ । सेन्सर सकिएलगत्तै यो फिल्मको प्रदर्शन मिति तोकिने यसका निर्माता, अभिनेता तथा निर्देशक नवल खड्काले बताएका छन् । केही दिनअघि फिल्मको शीर्ष गीत सार्वजनिक भएको थियो, जसलाई दर्शक तथा स्रोताले मन पराएका छन्।

उक्त गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर, मणी थापाको संगीत र मिलन कान्छा किराँतीको शब्द छ । उक्त गीतले देशको भूगोल र सार्वभौमसत्ता रक्षाका लागि नेपाल–भारत सीमामा काँडेतार लगाउनु पर्ने कुरो उठाएको छ।

काँडेतारमा नवल खड्कासहित गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ ।

Loading...