
भद्रपुर । राजवंशीलगायतका आदिवासी समुदायले मनाउँदै आएको सिरुवा पर्वको अवसरमा झापाका आठवटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
झापामा उल्लेख्य बसोबास रहेको राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी, हलुवाई, देशीनाईलगायतका आदिवासी जातजातिले आज अन्तिम दिन मनाउने रङ सिरुवाकाे अवसरमा जिल्लाका भद्रपुर, विर्तामोड, कनकाई र गौरादह नगरपालिका तथा हल्दिबारी, कचनकवल, बाह्रदशी र गौरीगञ्ज गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी बिदा दिएका हुन् ।
स्थानीय तहहरुले जारी गरेको सूचना अनुसार कार्यपालिका, वडा कार्यालय, शैक्षिक संस्था, पालिका अन्तर्गतका कार्यालयहरू बन्द रहनेछन् ।सिरुवा पर्व हरेक वर्ष नयाँ वर्षको दिन वैशाख १ गते शुरु भई ३ गते सकिन्छ ।
भद्रपुरका स्थानीय पुकार राजवंशीका अनुसार पहिलो दिन जल सिरुवा, दोस्रो दिन काद सिरुवा र तेस्रो दिन रङ सिरुवा खेल्ने गरिन्छ । आज ती समुदायले विभिन्न कार्यक्रमहरूको समेत आयोजना गरेका छन् ।