
जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटाइबाट ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वर्षीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो ।
गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।
ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो । स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
कुटपिटमा संलग्न ज्वाइँमाथि छठुकी श्रीमती मायाबति नौनियाको ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । महतो प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान सुरू गरेकाे छ ।