
बैतडी । बैतडीमा तीन युवती बेपत्ता भएका छन् । जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाका एक युवती बेपत्ता भएका हुन् । मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् ।
सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठामा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए । भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ ।
सम्पर्कविहीन भएका लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन् । उक्त दम्पतिका दुई छोरा छन् । यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको ६ दिनदेखि बेपत्ता भएका छन् ।
यही चैत १६ गते घरबाट हिँडेका उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ । पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन् । पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ।
जिल्लाको पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि ६ दिनदेखि बेपत्ता छन् । यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुबा दिलीप लाबडले जानकारी दिए ।
चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छुु भनेर घरबाट हिँडेका गोमती अहिलेसम्म घर फर्किएका छैनन् । इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरु बेपत्ता भएको जानकारी प्राप्त भएकाले खोजी जारी रहेको बताए ।