Under Menu add (Inside news)

आज रामनवमी पर्व मनाइँदै, यी २ प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । आज चैत्रशुक्ल नवमी अर्थात् रामनवमी । भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन् ।

सनातन हिन्दु धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम भगवान् श्री रामको जन्मदिनको अवसरमा आज श्रद्धापूर्वक ‘रामनवमी’ मनाइँदै छ । अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ ।

उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ । ​कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ ।

रामनवमीमारामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ। जनकपुरधाम भगवानको रामको ससुराली भएकोले यहाँ रामनवमी धूमधामसँग मनाउने गरिएको छ । त्रेतायुगमा भगवान् राम र माता सितासँग जनकपुरधाममै विवाह भएको थियो ।

राम नवमीको अवसरमा मधेश प्रदेशमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । राम नवमीको अवसरमा जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजापाठ गरिनेछ । त्यसका लागि टाढा टाढाबाट साधुसन्तहरु आइपुगेका छन् ।

रामनवमीका अवसरमा आज कर्णाली प्रदेश सरकारले पनि सार्बजनिक बिदा दिएको छ ।

Loading...