
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । संसद भवनस्थित ल्होत्ले हलमा कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा रहने स्पष्ट पार्नुभयो । उहाँले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताउनुभयो ।
प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने स्पष्ट पार्नुभयो ।
बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई ज्ञापनका साथै सफल कार्यकालको शुभकामना ज्ञापन गर्ने निर्णय गरेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । यसअघि पुस २६ मा पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् ।