Under Menu add (Inside news)

कोरियाले नेपालबाट सिजनल भिषामा कामदार नलैजाने

काठमाडौँ । दक्षिण कोरियाले तीनदेखि ६ महिनासम्मका लागि नेपालसहितका स्रोत देशबाट मौसमी कामदार लैजान रोक लगाएको छ ।

उच्च लागत तिरेर गएका कामदारहरू गैरकानुनी हैसियतमा बस्ने क्रम बढेपछि छोटो समयका लागि कामदार ल्याउने नीतिमा पुनर्विचार गर्दै कोरिया सरकारले तत्काल मौसमी कामदार ल्याउन स्थगन गरेको हो।

सोलस्थित नेपाली दूतावासका उपप्रमुख पुष्पराज भट्टराईका अनुसार मौसमी कामदारको भर्ना प्रक्रिया तत्काल सुचारु हुने सम्भावना छैन। ‘मौसमी कामदारले कुनै पक्षलाई पनि लाभ हुने अवस्था देखिएन। चर्को शुल्क तिरेर आएका कामदार नफर्किने देखियो। अहिले कोरिया सरकार अहिले यसप्रति सकारात्मक छैन,’ भट्टराईले भने ।

कोरियाको स्थानीय तहले नेपालको स्थानीय तहसँग सिधै सम्झौता गरेर मौसमी कामदार ल्याउन सक्ने नीति लिएको थियो। उक्त प्रक्रियाअनुसार कोरियाका केही स्थानीय तहले नेपालका विभिन्न पालिकाबाट करिब १ हजार ५ सय कामदार पनि लगेको थियो ।

त्यसरी गएका कामदारहरू कोरिया पुग्नेबित्तिकै भाग्ने अवस्था देखा पर्न थालेको कोरियाको श्रम काउन्सेलरको जिम्मेवारी पूरा गरी फर्किएकी उपसचिव रमा भट्टराईले बताइन्।

‘नेपालबाट मौसमी कामदारको रूपमा १५ सय जना पुगेको अभिलेख कोरिया सरकारसँग छ। उनीहरू कुन भिसामा गए भन्ने विवरण हामीसँग छैन । त्यसरी गएकाहरू काम सकेपछि नेपाल फर्किएका छैनन्।

कोरियाले पक्राउ गरी डिपोर्ट गर्नुपर्ने परिस्थिति सिर्जना भयो,’ वैदेशिक रोजगार बोर्डकी निर्देशक भट्टराईले भनिन्, ‘यसबारे मैले कोरिया हुँदै श्रम मन्त्रालयमा प्रतिवेदन पठाएकी थिएँ।’ स्थानीय तहबाट नै कोरियामा मौसमी कामदार पठाउन मिल्ने भएपछि ‘शक्ति समूह’ को दबाबमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मौसमी कामदार निर्देशिका जारी गराएका थिए ।

उक्त निर्देशिकाअनुसार मौसमी कामदार चाहिने रोजगारदाताले कोरियास्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी नियम छ । निर्देशिका जारी भएपछि मागपत्र प्रमाणीकरण गराउनका लागि नेपाली दूतावासमा कुनै रोजगारदाता नआएको उप्रमुख भट्टराईले बताए।

दूतावासबाट मागपत्र प्रमाणीकरण नभएपछि नेपालमा भने दलालहरूले ‘मौसमी कामदारमा पठाइदिने’ भन्दै जनही १० लाख रुपैयाँसम्म रकम उठाउन थालिएको छ।

२०२२ मा दक्षिण कोरियामा नेपालबाट १२ हजार ७ सय ३६ जना गएका हुन् । यसमा कृषि क्षेत्रका लागि मात्रै ४ हजार ६ सय २ जना गएका थिए। चालु वर्ष २०२३ का लागि कृषि क्षेत्रमा जान छनोटको सीप परीक्षाका लागि २६ हजार ८ सय ७६ जना आवेदक छन्। उनीहरूको परीक्षाको तालिका आगामी मार्च ७ देखि अप्रिल २६ सम्म तोकिएको छ। कान्तिपुर दैनिकबाट

Loading...