
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उहाँको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ। व्यास नगरपालिका-३ अनसन चौतारीमा आज बिहीवार बेलुकी दीप प्रज्ज्वलन गरिएको हो।
नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस एकाइको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो। दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेललगायत नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा व्यास नगरपालिकाका मेयर न्यौपानेले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा तनहुँको गौरव बढेको बताउनुभयो। तनहुँको विकास, लोकतन्त्र संरक्षण, अधिनायकवादको अन्त्यका लागि पौडेलले खेलेको भूमिका अतुलनीय रहेको भन्दै न्यौपानेले बताउनुभयो।