Under Menu add (Inside news)

इरानी विद्यालयमा ग्यास आक्रमण, १०० भन्दा बढी छात्रा अस्पताल भर्ना

एजेन्सी | इरानको तेहरानस्थित छात्रा विद्यालयमा बुधबार भएको शङ्कास्पद ग्यास आक्रमणमा परी १०० भन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएका छन्। विगत तीन महिनामा विद्यालयका छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्याका सयौं घटनाहरू देखा परेका छन् र यो छात्रा विद्यालयहरू बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्ने इरानका एक सरकारी अधिकारीले बताएका छन्।

उत्तरपश्चिमी शहर अर्दाबिलमा सात वटा र राजधानी तेहरानमा तीनवटा गरी कम्तीमा १० वटा बालिका विद्यालयलाई निशाना बनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। समाचार संस्था तस्निमका अनुसार तेहरानका तीन वटा विद्यालयमा विष सेवन भएको र अर्दाबिलमा भएको घटनाका कारण १०८ जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ।

उनीहरूमध्ये सबैको अवस्था स्थिर रहेको छ। अभिभावकलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले राजधानीको पश्चिमी क्षेत्र तेहरानसारको एक उच्च विद्यालयका विद्यार्थीहरू विषाक्त स्प्रेको सम्पर्कमा आएको जनाएको छ। यसको विस्तृत विवरण भने दिइएको छैन।

फार्सका अनुसार छात्रा विद्यालयमा विषाक्त पदार्थको आक्रमण भएको आशङ्कामा सुरक्षा बलले पहिलो पटक तीन जनालाई पक्राउ गरेको छ।

गत नोभेम्बरदेखि आक्रमणमा विषाक्त पदार्थको प्रयोगको प्रकोप सुरु भएयता करिब एक हजार २०० विद्यार्थीलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गर्नुपरेको एक सांसदले बुधबार बताएका छन्। इरानी संसदको स्वास्थ्य समितिका प्रवक्ता जाहरा शेखीका अनुसार तेहरानको दक्षिणमा रहेको पवित्र शहर कोममा करिब ८०० र पश्चिमी शहर बोरुजेर्डमा ४०० जनालाई अस्पताल भर्ना गरिएको छ।

स्वास्थ्य मन्त्रालयले कोमका विद्यालयहरूमा फेला परेको पदार्थमा नाइट्रोजनको अंश फेला पारेको उल्लेख गरेको छ।

Loading...