
बर्दिया । बर्दियाको मधुवन नगरपालिकाले आफ्नै खर्चमा नगरपालिकाभित्रका तीन वटा सडक निर्माण शुरु गरेको छ । नगरभित्रका अति महत्वका तीन सडक नगरपालिकाले आफ्नै बजेटमा निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाई निर्माण कार्य समेत शुरु गरिसकिएको नगर प्रमुख तेजबहादुर भाटले जानकारी दिए ।
नगरपालिकाले मधुवन नगरपालिका १ देखि ३ सम्म, ४ देखि ५ सम्म र ६ देखि ९ सम्म वडालाई छोएका भित्री सडकहरु निर्माण गर्नका लागि १७ करोड बजेट छुट्याएको हो । तीन सडक गरेर करिब २० किमी दुरी रहेको छ भने उक्त सडकहरु अस्पाट पीच हुनेछन् ।
ठेक्का प्रक्रिया अगाडी बढिसकेका उक्त सडकहरुले मधुवन नगरभित्रका स्थानीयहरुलाई आवतजावतमा थप सहज हुनेछ । यसरी निर्माण हुने सडकले बर्दियाको भगरैया तालसम्म पुग्नका लागि सहजता हुने भएकाले पर्यटकीय दृष्टिले पनि फाइदा पुग्ने छ।
