
काठमाडौं । मधुवन नगरपालिकाले बर्दियाको मधुवन नगरपालिका वडा नम्वर २मा चितुवाको आक्रमणमा परी घाईते भएका तीन जनाको उपचारको माग गरेको छ ।
नगर प्रमुख तेज बहादुर भाटले आज एक बिज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि जंगली जनावरको आक्रमणबाट यस क्षेत्रमा स्थानीय पीडित भएको र प्रभावित क्षेत्रमा जनताको सुरक्षाको लागि तारबार लगाउन पहल गरेको भएपनि सरकारले त्यसको वेवास्ता गरेको भन्दै चितुवाको आक्रमणबाट घाईतेहरुको उपचारको माग गरेका हुन् ।
जंगल किनारका बस्तीहरुमा सडक र सडक बत्तीको लागि आवश्यक बजेट उपलब्ध गराईदिन अनुरोध गर्दै भाटले सुरक्षाको उचित ब्यवस्थापन गर्दिन सरकारसँग पुनः माग गरेका छन्। यस्तै भाटले घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
विगतदेखि नै सरकारसँग यस क्षेत्रमा जनताको सुरक्षाका लागि तारबार र पक्की पर्खालको लागि माग गर्दै आउँदा पनि सरकारले नसुन्दा यस्ता घटनाहरु दोहोरिएको प्रमुख भाटले बताए । सरकारको यस किसिमको उदासिनताले सरकारले मानवलाई भन्दा वन्यजन्तुलाई वढी महत्व दिएको हो कि भन्ने आफूहरुलाई लागेको उनले बताए ।
मधुवन नगरपालिका वडा नम्वर २ स्थित बंगालीपुरमा बाख्रा चराउन गएका ७० वर्षीय फूलराम चौधरी, १५ बर्षीय बिनायक चौधरी र ४० बर्षीय धर्म चौधरी घाईते भएका थिए । थारुलाई चितुवाले एक्कासी झम्टेपछि उद्धार गर्न पुगेका डिभिजन वन कार्यालय बर्दियाका कर्मचारी धर्मराज समेत घाईते भएका हुन् । यस क्षेत्रमा बर्षेनी चितुवाको आक्रमणबाट मानवीय र स्थानीयको अन्नबालीको क्षति हुदै आएको छ ।