
धनगढी l २०६६ सालको घटनामा २०७० सालमा दोषी ठहर भइ हालै मात्रै जल चलान भएका नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य अरुण चौधरी जेलमुक्त भएका छन् ।
असल चालचलन देखिएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद माफी मिनाहा पाएपछि चौधरी आइतबार जेलमुक्त भएका हुन् ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।
७३औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले चौधरीको कैद सजाय मिनाहाका लागि सिफारिस गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् ।
कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीसहित कैलाली जिल्ला अदालतबाट आइतबार ४ जना कैदीबन्दी रिहा भएका छन्।