
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी) सहभागी भएको छ । हिजोको प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए । संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन भएको छ। सबै भन्दा धेरै सांसद सदस्य रहेको दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह प्रदेश मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कुनै दलको पनि बहुमत छैन । निर्णायक भूमिकामा नागरिक उन्मुक्ति पार्टी रहेको छ । कांग्रेस १९, माओवादी ११, एमाले १०, नागरिक उन्मुक्ति ७, समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन् । बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक छ।
नवनियुक्त मुख्यमन्त्री शाहले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले शपथ लिएसँगै विस्तार गरको मन्त्रिमण्डलमा एकीकृत समाजवादीबाट नरेश शाही मन्त्री बनेका छन् । उनलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर संघीय सरकारमा पनि सहभागी नभएको एकीकृत समाजवादीले सुदूरपश्चिमबाट आफ्नो सत्तारोहण सुरु गरेको छ । मुख्यमन्त्री शाहीलाई एकीकृत समाजवादीले समर्थन गरेपनि उनले विश्वासको मत पाउन नाउपाको समर्थन आवश्यक छ । नाउपाले शाह नेतृत्वको सरकारमा पनि सहभागी नहुने बताउँदै आएको छ।