
काठमाडौँ । कर्णाली प्रदेश सरकार पछि बाग्मती प्रदेश सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । गत माघ २४ गते बसेको बाग्मती प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेशका अर्थमन्त्री तथा सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए।
अघिल्लो कार्यकालका सरकारले जनयुद्ध दिवसमा बिदा दिएको थिएन। हाल प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ।माओवादीको नेतृत्वमा सरकार बनेको बेला पहिलो पटक जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिन लागेको हो। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको थियो।
बाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाद्वारा जारी सुचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुदा सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’
यसअघि गत माघ २३ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले पनि ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । प्रदेश सरकारको घोषणा सँगै बागमतीका १३ र कर्णालीका १० जिल्लागरी देशका २३ जिल्लामा फागुन १ गते बिदा हुने भएको हो।