Under Menu Ad KTM

गण्डकीमा टुंगियो मन्त्रीको भागबण्डा, थप ३ मन्त्रीले लिए सपथ

पोखरा । गण्डकी प्रदेशमा मन्त्रीहरुको भागबण्डा टुंगिएको छ । ७ सदस्यीय मन्त्रालय रहेको गण्डकीमा सत्तागठबन्धनको एमालेले ४, माओवादी केन्द्र २ र राप्रपाले १ मन्त्री पाएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, एमालेकै सीताकुमारी सुन्दासलाई आर्थिक मामिलाको जिम्मा दिएका छन् । सुन्दास सरकारका प्रवक्ता समेत हुन् ।

एमालेका वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री बनेका छन् । रोशन अर्थमन्त्री बन्ने चर्चा रहे पनि सीताकुमारीले बाजी मारेकी हुन् । माओवादी केन्द्रका हरिबहादुर चुमानले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाए । मन्त्री हरिबहादुर पहिलो र सीता दोस्रो बरियतामा छन् ।

राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका छन् । उनीहरुलाई सोमबार साँझ नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री अधिकारीको उपस्थितिमा १६८ (९) बमोजिम कार्यविभाजन गरी पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा अधिकतम् २० प्रतिशत अर्थात् १२ मन्त्रालयसम्म बनाउन सकिने कानुनी प्रावधान छ । यसअघि एमालेबाट मुख्यमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेतृत्वको पहिलो सरकारले प्रदेशमा ७ बाट ११ मन्त्रालय बनाउने निर्णय गरेको थियो । तर मन्त्री नियुक्त नहँदै उनी सरकारबाट बाहिरिएका थिए ।

त्यसपछि आएका कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल सरकारले अधिकतम् १२ मन्त्रालय बनाएर सत्तागठबन्धनको भागबण्डा पु-याएका थिए। अहिले एमालेका अधिकारी नेतृत्वको सरकारले मन्त्रालय घटाउने निर्णयको सर्वत्र स्वागत गरिएको छ ।

२५ पुसमा मुख्यमन्त्री नियुक्त अधिकारीले ३० पुसमा संसदमा ३१ सदस्यको विश्वासको मत पाएका थिए । उनले नियुक्तको १६ दिनपछि मात्र मन्त्रालयलाई पूर्णता दिएका हुन् । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, एमाले २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र १ सदस्य हुन् ।

Loading...