Under Menu Ad KTM

पैसा कमाउन जापान गएका एक नेपाली उतै अस्ताए

फुकुओका । जापानमा विद्यार्थी भिषामा आएका एक जना नेपाली युवाले आफैंले आफ्नो जीवन अन्त्य गरेका छन् । ३ वर्ष अघि भाषा विद्यार्थीको रुपमा जापान आएका नेपालको गुल्मी जिल्ला घर भएका २३ वर्षिय मगर थरका युवाले आत्महत्या गरेका छन् । मृतकको परिचय खुलाइएको छैन ।

उनको परिवारजनलाई यसबारे जानकारी गराउने काम भइरहेको बताइएको छ। साथीभाइ र परिवारका सदस्यहरुसँग जनवरी १७ देखि नै मृतक सम्पर्कबिहिन थिए । उनको खोजीको क्रममा कोठामै मृत भेटिएका हुन् । आइतबार उनको कोठा खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएको उनका साथीहरुले बताएका छन्।

शबको अवस्था हेर्दा आत्महत्या केही दिन अघि नै गरेको देखिन्छ। उनको शब पोष्टमर्टमका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाबारे जापानस्थित नेपाली दूताबासलाई समेत जानकारी भइसकेको छ । पछिल्लो समय जापानमा आत्महत्या बढेको छ।

महिला भन्दा पुरुषको आत्महत्या दर झन्डै दोब्बर रहेको हालै सार्वजनिक भएको सरकारी तथ्यांकले देखाएको थियो। पछिल्लो समय जापान काम वा अध्ययनको सिलसिलामा आएका नेपालीहरुमाझ आत्महत्या बढ्दो छ।

Loading...