
तुलसीपुर l एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगर-१० नारायणपुर बस्ने ४५ वर्षीय पूर्ण पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
रा ६ प ८९८५ नम्बरको मोटरसाइकलमा सवार पुन मगरलाई गतराति करिब ९ बजेतिर रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले घोराही-१३ दारेबोटमा ठक्कर दिएको थियो।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुन मगरलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा पठाइएको थियो।
भैरहवामा उपचारका क्रममा उनको सोमबार बिहान २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।
एम्बुलेन्स चालक रोल्पाको त्रिवेणी गाउँपालिका -२ बस्ने २८ वर्षीय निर्मल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।