Under Menu Ad KTM

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६२ सांसदको समर्थनमा यादवले बुधबार मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ। १ सय ७ सिट रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।

बारा १(२) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनु भएका यादव प्रदेशका पूर्वसभामुख समेत हुनुहुन्छ । मधेश प्रदेशमा जसपाका १६ जना सांसद रहेका छन् ।

त्यस्तै प्रदेश सभामा एमालेका २३, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादीका १–१ जना सांसद रहेका छन्।

मधेशमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।

Loading...