काठमाडौं । अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ। पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो। समितिको मंगलबार बसेको बैठकले पात्रो तयार गरी पञ्चाङ्ग निर्णायक समितिका सदस्यलाई पात्रो उपलब्ध गराएको थियो।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आउँदो वर्षको साउनपछिका पर्व १९ दिनपछि परेको जानकारी दिँदै भन्नुभयो – ‘पात्रो तयारीको क्रममा छ। निर्णय भएपछि सबै विषयमा जानकारी दिनेछौं।’ समितिले करिब १५ संस्थालाई पात्रो छपाई गर्न स्वीकृत दिने तयारी गरेको छ। कार्यकारी निर्देशक ढुंगेलले केही दिनभित्र पात्रो बजारमा आउने जानकारी दिँदै भन्नुभयो–‘एक दुई दिनमा निर्णय गर्नेछौं, त्यसपछि छपाइका लागि स्वीकृत दिनेछौं।
वि.सं. २०८० सालमा दशैंको पहिलो दिन घटस्थापना असोज २८ गते परेको छ । कार्तिक ४ गते फूलपाती, ५ गते महाअष्टमी, ६ गते महानवमी र ७ गते विजया दशमी परेको छ । त्यस्तै, कार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको समितिका एक पञ्चाङ्गकारले बताउनुभयो । अर्को पर्व तिहार कार्तिक २५ गतेबाट सुरू हुनेछ।
२५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मीपूजा, २७ गते गाई तिहार , २८ गते म्हपूजा, नेपालसम्वत् र गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ। समितिले तयार गरेको पात्रो अर्को साता गृह मन्त्रालयमा पठाइने छ । गृहले सार्वजनिक बिदाको निर्णय तयार गरेपछि मात्रै भित्तेपात्रो प्रकाशन हुनेछ । विदेशमा रहने नेपाली र अन्य निकायले तालिका सार्वजनिक गर्न आग्रह गरेपछि विगतभन्दा केही दिनअघि नै पात्रो तयार गर्न लागिएको हो। नेपाल समाचारत्र पत्र दैनिकमा खबर छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
