
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई धोका नदिएको बताएका छन् । ‘श्रद्धेय पार्टी सभापतिले मलाई मौका दिनुभएको छ । म त्यसलाई स्वीकार्छु । म उहाँलाई आदर र सम्मान पनि गर्छु । तर एउटा सांसदले पद रोज्ने कि विवेक ?
मेरानिम्ति पदभन्दा विवेक ठूलो हो । त्यसकारण मैले संसदीय दलमा गगन थापालाई समर्थन गर्नु ठीक थियो । मैले प्रक्रियाभित्र प्रतिस्पर्धा गरेर नेतृत्व लिने कुरामा सहयोग गरेको हो । तर शेरबहादुर देउवालाई धोका दिएको कदापि होइन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम कुरा गर्दै पौडेलले भने ।
राजनीति यथास्थितिले नचल्ने र पुस्तान्तरण जरुरी भएको पनि उनले औंल्याए । पौडेलले भने, ‘संसदीय दलमा गगनको पक्ष लिने मलाई कसैले दबाब दिएको थिएन । विश्वप्रकाश शर्मा र गगनको दबाब मान्नुपर्ने भन्ने के छ र ? शेरबहादुरजीले जित्नुभयो । अब त्यो अध्याय सकियो। बहुसंख्यक सांसदहरुले जे आवश्यक ठान्नुभयो, त्यसलाई सबैले स्वीकार्नुपर्छ । तर राजनीति यथास्थितिले चल्दैन । पुस्तान्तरण जरुरी छ।’ देउवाले आम जनमानसको निराशालाई अन्त्य गर्ने गरी काम गर्नुपर्ने पनि उनले बताए।
मन्त्री बन्नु आफ्नो प्राथमिकतामा नरहेको पनि पौडेलले बताए। उनले थपे, ‘मेरो प्राथमिकता मन्त्री मात्र भएको भए म यो बाटो हिँड्थे र ? मैले कृष्णप्रसाद सिटौला दाइलाई सम्मान गर्दै पुस्तान्तरणको पक्षमा उभ्याएको हो । उहाँ शेरबहादुर देउवाकै पक्षमा हुनुहुन्थ्यो, मैले गगन थापालाई समर्थन गरें । पुराना भत्किनु र नयाँ समीकरण बन्नु स्वाभाविक हो ।’ पौडेलले भने, ‘हामी पहिले दर्शक थियौं, अहिले खेलाडी भयौं । अब देशका निम्ति गोल हान्ने हो । मेस्सी बन्ने हो ।’ पहिलो पटक दौरा सुरुवालमा प्रस्तुत हुँदा अप्ठ्यारो लागेको पनि उनले सुनाए।