महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायलको सहयोग

काठमाडौँ । इजरायल सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ।

आज बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गरे।

Advertisement

ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ।

‘हाईटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सीप आदानप्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताए ।

यो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उनले बताए।

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरूको जीवन पद्धतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधिमा भएका परिवर्तनको अध्ययन आवश्यक रहेको बताए।

इजरायलले नेपालमा प्रविधिसहितको ल्याबका लागि सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे। यो ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ। अहिले ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ।

More News last news
Loading...